आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

अनिष खालिङ बचाउँ अभियानको नाममा संकलित रकम त्यस्तै ठाउँमा खर्च नहुनु दुःखद

परदेशी खबर २ भाद्र २०७३, बिहीबार १४:४१ मा प्रकाशित ( ७ साल अघि) ४८२ पाठक संख्या

image

कोशराज राई, कुवेत

पाकिस्तानी नागरिकको हत्या आरोपमा दुवईको जेलमा रहेका संखुवासभा, मत्स्य पोखरीका अनिष खालिङ राईलाई त्यहाँको अदालतले जब फाँसीको सजाय सुनायो, तब विश्व भरका नेपालीहरुमा एक किसिमको तरंग पैदा भयो। पछि त्यहाँको अदालतले मृत्य दण्डको बिकल्पमा मृतकको परिवारले ब्लड मनी स्विकार गरे मृत्युदण्डको सजाय मिनाहा हुने कुराले केही आशा पनि पलाएको थियो।

तर ८१ लाख नेपाली रुपैयाँ कसरी जम्मा गर्ने र अनिष खालिङलाई नेपाल फिर्ता ल्याउने भन्ने कुरा अर्को चिन्ताको बिषय बन्यो। पत्नी रबिता राईले सरकारले केही गर्छ कि भनि बाटो हेरीन्। परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा सम्पर्क गरीन्। तर सरकारी स्तरबाट त्यतिका रकम प्राप्त हुने कुनै आशा नरहे पछी रबिताले कान्तिपुर एफएम मार्फत सहयोगको याचना गरेपछी काठमाण्डौमा रहेका आफन्तहरु सम्पर्कमा आए। त्यसपछी नारदकुमार राईको संयोजकत्वमा अनिष खालिङ बचाउँ अभियान सन्चालन भयो।

विश्वभरका नेपालीहरु स्वत स्फूर्त रुपमा सहयोग गर्न तैयार भए। विश्व भरीका नेपालीहरुबाट अनिष खालिङ बचाउँ अभियानको खातामा रकम जम्मा हुन थाल्यो र चाहिने भन्दा झण्डै चार गुणा बढी या नि ३ करोड भन्दा बढी रुपैयाँ भन्दा बढी जम्मा भयो। कुवेतबाट पनि १० लाख रुपैयाँ सहयोग पठाईयो।  र यो ३ करोड़ रुपैयाँ भन्दा बढी रकम ईतिहास मै पहिलो पटक एउटा ब्याक्तिको सहयोगको निम्ति संकलन भएको रकम थियो।

तोकिएको रकम सरकारलाई जम्मा गरेपछी नेपाली दूतावास मार्फत उक्त रकम तिर्न जाँदा अरु नै ब्याक्तीले तिरी सकेको पाईए पछी त्यो रकम पनि तिर्न परेन।अझै उक्त रकम ८१ लाख रुपैयाँ पनि त्यतिकै सरकारको खातामा रोकिएर बसेको छ।

अनिष खालिङको तिर्न पर्ने रकम चुक्ता भएपछी १५ जुलाई २०१५ २ बर्ष ९ महिना १८ दिन जेलमा बसेर नेपाल फर्किन सफल भए। त्यस पछि विमानस्थलमा र बिभिन्न कार्यक्रमहरुमा पनि आफुलाई सहयोग गर्ने नेपालीहरुमा हृदय देखी नै धन्यवाद ब्याक्त गर्दै आफु जस्तै आपतमा परेका नेपालीहरुलाई सहयोग गर्ने धारणा लिएर आएको वाचा गरे।

उक्त समयमा अभियानका संयोजक नारदकुमार राईले अनिष जस्तै धेरै नेपालीहरुले यो समस्या भोग्न सक्छ, त्यसैले एउटा फाउण्डेसन अथवा ट्रष्ट बनाएर उ जस्तै विदेशमा अभरमा परेकाहरुलाई सहयोग गरिने बताएका थिए।

तर नारदकुमार राई र अनिष खालिङले भने जस्तो यहाँ भएन। जब कुशादेवी २ काभ्रेका रामचन्द्र तिमल्सिना साउदी अरबको हायल जेलमा आफुले चलाएको गाडीको ठक्करबाट पाकिस्तानी नागरिकको निधन भएको कसुरमा जेल जीवन बिताई रहेको र पहिले ९० लाख रुपैयाँ ब्लड मनि तिरे जेल मुक्त हुने फैसला भएको भएता पनि उक्त फैसलाम पनर्बिचार गरि ३५ लाख रुपैयाँ अर्थात १ लाख २० हजार साउदी रियाल ४५ दिन भित्रमा चुक्ता गर्ने समय तोकिएको थियो। त्यसबेला उनीहरु अर्थात अनिष खालिङक फाउण्डेसन तातिनु पर्ने थियो तर खै किन हो कुन्नि त्यस्तो हुन सकेन र समय छोटो भएको कारण रामचन्द्र बचाउँ अभियान संचालन गरी फेरी विश्व भरका नेपालीहरुलाई आव्हान गरीएपछि ५ दिन भित्रै फेरी यस पटक पनि चाहिने भन्दा बढी रकम संकलन भयो।

अहिले यकिन रकम थाहा नभए पनि १ करोड २० लाख भन्दा बढी रकम संकलन भएको कुराहरु सुन्न र पढ्न पाई रहेका छौं। जे होस् नेपालीहरुको अभुतपूर्व एकता फेरी पनि देख्न मिल्यो रामचन्द्र बचाउँ अभियानको क्रममा। एउटा नेपालीले अर्को नेपालीलाई पर्दा कसरी सहयोग गरिदो रहेछ भन्ने कुराको उदाहरण पनि बन्यो।

तर यहाँ म लगायत थुप्रै देश विदेशमा रहेका नेपालीहरुलाई पटक्कै चित्त नबुझेको कुरा, यत्रो गम्भिर बिषयको कुराहरु भईरहेको थियो तर यो बिषयमा न अनिष खालिङ बोले न त अनिश खालिङ फाउण्डेसनले नै कुनै धारणा सार्वजानिक गर्यो। कम से कम उनिहरुले यस्तो गम्भिर बिषयमा फाउण्डेसनमा जम्मा भएको रकमबाट केही रकम छुट्याएर भएपनि उनिहरुले नै रामचन्द्र बचाउँ अभियान शुरु गर्नु पर्ने थियो तर त्यसो गरिएन। यो बडो दु:खको कुरा हो।

यस बिषयमा मैले अनिश अनिष खालिङ बचाउँ अभियानका महासचिव प्रकाश खालिङसंग आज बल्ल नम्बर पाएँ र फोनमा मेरो कुरा भयो। मैले शुरुमै तपाईंहरु आवश्यक परेको बेलामा किन चुप लागेर बस्नु भयो? भन्ने प्रश्नमा उनले हामी चुप लागेर बसेका छैनौं, आफुहरुले बैठक बसेर यस कार्यमा सहयोग गर्नु पर्छ भन्ने निर्णय गरेको, अनिष खालिङको लागी भनेर पठाएको रकम ८१ लाख रुपैयाँ सरकारको खातामा छ र त्यो पैसा फिर्ता लिएर सोहीबाट सहयोग गर्ने भन्ने निर्णय भएको पनि उल्लेख गरे। पछी रामचन्द्रको श्रीमती र बुवालाई सम्पर्क गर्दा सहयोग रकम जुटी सकेको जवाफ पाएपछि आफुहरु अगाडी नबढेको भनाई थियो। तर पनि उनको परिवारलाई सहयोग आवश्यक परेको खण्डमा आवश्यक सहयोग गर्ने जवाफ दिए।

अनिष खालिङ फाउण्डेसनमा हाल २ करोड १६ लाख जति रकम रहेको र अनिष खालिङको लागि भनेर सरकारलाई दिएको ८१ लाख रुपैयाँ पनि फाउण्डेसनमा ल्याउन पहल भईरहेको पन महासचिवको भनाई थियो।

यसरी पैसा मात्र थोपरेर समयमा काम नलागे पछि त्यो पैसाको के काम? यस बारेमा सबैको गुनासो रहेको कुरा अनिष खालिङ फाउण्डेसनका पदाधिकारी र सदस्यहरुले बुझ्न जरुरी छ। सरकारले पनि उक्त ८१ लाख रुपैयाँ मध्यबाटै रामचन्द्र बचाउँ अभियानमा रकम निकासी गरीदिएको भए सरकार माथिको भरोशा र विश्वासनियता थपिने नै थियो। तर दुवै तर्फबाट त्यसो हुन सकेन यो पनि दु:खको कुरा हो। मान्छे मरीसक्ने तर यता भने दुई तर्फको लुछाचुँडी नसकीने अवस्था बडो लाजमर्दो कुरा हो।

अनिष खालिङ बचाउँ अभियानका संयोजक नारदकुमार राईलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। उनी क्यान्सरको बिरामीले बोल्न नसक्ने अवस्थामा छन् भन्ने कुरा महासचिव प्रकाश खालिङ मार्फत थाहा भयो।

अनिष खालिङ र उनको श्रीमती रबिता राईको नम्बर स्विच अफ छ। उनीहरु अहिले बैद्द तिर चिया पसल गरेर बसेका छन् भन्ने थाहा भयो। तर अनिष खालिङ फाउण्डेसनका संरक्षक अनिष खालिङले उक्त रकमको बारेमा यति धेरै खोजि हुँदा पनि चुप लागेर बस्नु कति सम्म उचित होला? नेपालीहरुको सहयोगको कारण पुनर्जीवन पाई नेपालमा ओर्लिंदा आफु जस्तै समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने उनले गरेको वाचा अनिष र उनका परिवारले भुलेकै हुन त? कुनै युद्द जितेको योद्दालाई जस्तै गरीएको स्वागतलाई कसरी बिर्सन सकेको होला? के उनीहरुले सोच्न पर्दैन त्यत्रो आपतमा नेपालीहरुले कसरी सहयोग गरेका थिए भनेर? के सोच्न पर्दैन कि उनीहरुको सानी छोरीको अभिभावक नेपालीहरुको सहयोगले फिर्ता आएको हो भनेर? के सोच्न पर्दैन एउटी नारीको सिन्दुर पुछिनबाट बचाईयो भनेर?

अन्तमा जुन उदेश्यले सहयोग रकम जम्मा गरिएको हो त्यो संकलित रकम किन परिचालित या खर्च भएन? यो मुख्य कुरा हो र जुन कार्यका लागि सहयोग संकलन गरीएको हो त्यस कार्यका लागी खर्च नहुनु निश्चित रुपमा पनि दुःखद कुरा हो। अबका दिनमा उनीहरुले पनि कुरा सोचुन, बुझुन्। आफुले जेल जीवन बिताउँदा भोगेको तनाव अनि तमाम नेपालीहरुको सहयोगले नेपाल फर्केर परीवारसँग पुनर्मिलनका क्षण। यही कुरालाई मनन् गर्दै अबको दिनमा आपतमा बिपदमा परेका नेपालीलाई सहयोग गर्न अनिष खालिङ फाउण्डेसन सबैभन्दा अगाडी उभिने छ र त्यस्तै खुशी प्रदान गरी आफुले गरेका वाचा पुरा गर्नेछन् भन्ने मलाई बिश्वास छ।

१८ अगष्ट २०१६