आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

चिकित्सा शिक्षा ऐन नबन्दासम्म मेडिकल कलेजलाई सम्बन्धन नदिइने

परदेशी खबर २८ भाद्र २०७३, मंगलवार १५:२९ मा प्रकाशित ( ७ साल अघि) २३५ पाठक संख्या

मनमोहन अस्पताल किन्ने प्रक्रिया थालिने

 

govinda kc_prachanda

२८ भदौ, काठमाडौं । चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिइने भएको छ । प्रा. डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनसन बस्ने चेतावनी दिएका छन् ।

डा. केसीको चेतावनीपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार शिक्षामन्त्री धनिराम पौडेल, स्वास्थ्यमन्त्री गगन थापा र माथेमा आयोगका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेका छन् । प्रधानमन्त्रीले आठौं अनसनका क्रममा भएको सम्झौता कार्यान्वयन गर्न र डा. केसीले अनसन बस्नु पर्ने वातावरण नदिन शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

शिक्षामन्त्री पौडेलले अनलाइनखबरसँग भने, ‘चिकित्सा शिक्षा ऐन छिट्टै संसदमा पेश गर्छौं । र, ऐन नबन्दा कुनै पनि मेडिकल कलेजलाई सम्वन्धन नदिन सचेत गराएका छौं ।’

चिकित्सा शिक्षा ऐन सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेपनि संसदमा टेबल भएको छैन । सम्भव भए भोलि र नभए अर्को बैठकमा दर्ता गर्ने सरकारको तयारी छ । ‘ऐनमा संशोधन गर्नु पर्ने भनिएका विषयहरु संशोधनको बाटोबाट आउँछ,’ स्वास्थ्यमन्त्री गगन थापाले भने, ‘यसलाई सुधार गरेर लिएर जाने निर्णय भएको छ ।’

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले नै नेसनल मेडिकल कलेजलाई सम्वन्धन दिन दबाव दिएको समाचार बाहिर आएको थियो । र, यसबारे निर्णय गर्न चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमले भोलि २९ गते फ्याकल्टी बैठक समेत बोलाएको छ ।

आफूसँग भएको सम्झौता र माथेमा आयोगको प्रतिवदेन विपरित सम्वन्धन दिन लागेको भन्दै डा. केसीले २ गतेभित्र सम्झौता कार्यान्वयन गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । नभए असोज ३ गतेबाट नवौं आमरण अनसन सुरु गर्ने डा. केसीले बताए ।

मनमोहन अस्पताल किन्ने प्रक्रिया थालिने

सरकारले डा. केसीसँगको सहमति अनुसार मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने भएको छ ।

स्वास्थ्यमन्त्री थापाले भने, अघिल्लो सरकारसँग भएको सम्झौता अनुसार अस्पतालको सम्पत्ति नेपाल एकेडेमी फर मेडिकल साइन्स (नाम्स)ले लिने प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।’ मनमोहन अस्पतालसहितको सम्पत्ति नाम्सले लिएपछि त्यसको नाम परिर्वतन गरेर मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान राख्ने प्रक्रिया अघि बढाउनेछ ।

 

प्रधानमन्त्रीसहितको बैठकमा सात प्रदेशमा सात मेकिकल कलेज स्थापनाबारे पनि छलफल भएको छ । कुन-कुन प्रदेशमा मेडिकल कलेज छ ? नभएका ठाउँमा कुन निकायलाई बनाउन सकिन्छ र कहाँ नयाँ खोल्नु पर्ने भन्नेबारे एक महिना भित्र अध्ययन गर्ने निर्णय भएको छ ।

साथै चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डिन तत्काल नियुक्त गर्ने निर्णय भएको छ । बैठकपछि मन्त्री पौडेलले सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री प्रचण्ड स्वयंम गम्भीर रहेको भन्दै अब डा. केसी अनसन बस्नु नपर्ने बताएका छन्

 

 

साभार अन्लाईनखबर