आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

परदेशीहरुले अब युद्ध गर्नुपर्छ

परदेशी खबर २२ कार्तिक २०७३, सोमबार ०८:५४ मा प्रकाशित ( ७ साल अघि) १७० पाठक संख्या
सुरेश हमाल

सुरेश हमाल

 

 

नोभेम्बर ७,

 

 

गत वर्ष नेपालमै रहँदा भर्खरै दुबईबाट छुट्टीमा आएको साथीले भन्यो, ‘श्यामे (नाम परिवर्तन) ले त एकदम प्रगति गरेछ नि ।’

मैले केही सोध्न नपाउँदै उसले फेरि थपिहाल्यो, ‘बजारमै ड्याम्म गजबको घर बनाएको रै’छ । उसको दाजु पनि ठूलै ठाउँमा गएको रै’छ, आफू पनि ठूलै ठाउँमा छ ।’

सुनेर त्यतिबेला फिस्स हाँसेँ ।

जीवनमा सफलता भनेको के हो ? बजारमा घर बनाउनु, विकसित देशमा जानु नै सफलता हो त ?

म सफलतालाई माओवादी युद्धसँग जोड्न चाहन्छु । माओवादीले देशमा दशवर्षे युद्ध गर्‍यो । दर्जनौं ठाउँमा भिडन्त गर्‍यो । कतिपय ठाउँमा लडाइँ जित्यो पनि । तर, समग्र युद्ध जित्न सकेन । असफल भयो र अन्त्यमा शान्ति प्रक्रियामा आयो ।

यसबाट के बुझ्न सकिन्छ भने सफलता भनेको स-साना भिडन्त र लडाइँ जित्नु होइन, सफलता भनेको त समग्र युद्ध जित्नु हो ।

सोही अनुसार बजारमा घर बनाउनु, ठूलो देशमा जानु सफलता हुँदै होइन । यो त माओवादीले युद्धमा गाँउघरका स-साना चौकी आक्रमण गरेर जिते जस्तै जिन्दगीको  स-साना लडाइँ जितेको मात्र हो ।

अघिल्लो हप्ता विदेशमै रहेको एक जना साथीले बडो गर्व र घमण्डका साथ भन्यो, ‘मैले त शहरमा ४० लाख हालेर घडेरी लिएँ नि !’

उसको बोली सुन्दा यस्तो लाग्थ्यो, उसले दुनियाँमा कसैले नगरेको काम गर्‍यो । घडेरी लिनु भनेको पूरा संसार जित्नु हो, सफलताको शिखर चुम्नु हो ।

उसको घमण्ड देख्दा पेच पारेर भन्न मन थियो तर मनमनै भनेँ, ‘तैले त शहरमा १० हात घडेरी किनिस् होला । तर, मेरो गाउँमा हजार हात घडेरी छ । शहरको तेरो घडेरीमा घर मात्रै बनाउन मिल्छ, तर मेरो गाउँको घडेरीमा पूरा देशै बनाउन मिल्छ ।’

 

हामीले शहरमा घडेरी किन्नुलाई, घर बनाउनुलाई, घरपरिवार पाल्नु, बालबच्चालाई पढाउनुलाई नै जिन्दगीको सफलता ठानेका छौं । तर, यी काम त एउटा सय ग्रामको फिष्टो चराले पनि गरिरहेकै हुन्छ । रुखको हाँगामा झारपात जोडेर गुँड बनाउँछ,  बचेराहरु कोरल्छ । दिनभरि सारा जंगल, गाउँघर घुमेर आहारा खोजेर ल्याउँछ र बच्चाहरु हुर्काउँछ ।

त्यसैगरी हामी पनि आहाराकै खोजीमा समुद्र पारि आइरहेका छौं । दिनभरि सकिनसकी काम गर्छौं अनि महिना पुगेपछि एकमुष्ठ पैसा पठाउँछौं र परिवारको पालनपोषण गर्छौं  ।

तर, हाम्रो जिन्दगी त्यो फिष्टो चराको जत्ति पनि छैन । दिनभरि सारा गाउँ, जंगल घुमे पनि बेलुका त परिवारको न्यानो स्पर्शमा बस्छ ऊ । हामी भने कहिलेकाहीँ मध्यरातमा झसंग भएर बिउँझिँदा यता छामे भित्तो छ, उता छामे रित्तो छ ।

कहिलेसम्म भित्तो र रित्तोसँगै रमाएर बस्ने ? विदेश बसेर कहिलेसम्म घडेरी-घडेरी भनेर दौडिरहने ?

किन्नै पर्नेछ भने किनौं तर पूरै जिन्दगी फालेर नकिनौं । पोहोर साल २५ लाखमा किनेको, यसपालि ५० लाख पुग्दा राम्रै भो । अर्को साल एक करोड पुग्ला र करोडपति भइएला भनेर रुखोसुखो र झोल र भात खाएर नबसौं । परिआउँदा बेच्न सक्ने साहस पनि गरौं ।

हामी सानो छँदा प्राय: सबैले भोलि डाक्टर, पाइलट, इञ्जिनियर बन्ने भन्छौं । तर, अलि बुझ्ने भएपछि आ-आफ्नो रुचि अनुसार देशमै विभिन्न पेशा र व्ययवसायमा लाग्ने उद्देश्य बोक्ने गर्छौं । साउदी, कतारका मरुभूमिमा बेल्चा हान्ने वा दुबई र कोरियाका भट्टीमा फलाम पगाल्ने उद्देश्य त पक्कै कसैले बोकेका हुँदैनौं । तर, आज खै त हामीले स्कूल/क्याम्पस पढ्दा बनाएका उद्देश्य र लक्ष्यहरु ?

ती सब एक थान पासपोर्ट सँगै मरेर गए । मरुभूमिका तातो वालुवा र भट्टीका तातो फलामसँगै खरानी भए ।

कहिलेकाहीँ यस्तो लाग्छ, हामी अरुको खुसीको लागि काम गर्ने गधा, खच्चड  हौं । हामी आमाको खुसीमा आफ्नो खुसी खोज्छौं, बाको मुस्कानमा आफ्नो मुस्कान खोज्छौ । घरपरिवारका मान्छे सुखी र खुसी भए हामी यत्तिकै खुसी हुन्छौं । तर, खै त हाम्रो आफ्नो खुसी ?

हाम्रो खुसी त मानौं मरुभूमिका उँटले खाइदिइसके वा समुद्रका छालले हुत्याइदिइसके ।

गत महिना एक जना अंकलसँग कुराकानी भयो । भन्नुभयो, ‘तैंले त दु:ख गरेर घरका मान्छे मात्र पाल्छस् होला, तर मैले त विदेशमै काम गरेर घरको भैंसी पनि पाल्नुपर्छ ।  यहीँबाट पठाएको पैसाले हो, दाना र घाँस किनेर खुवाउने ।’

गहिरिएर सोच्ने हो भने यो कुरा निकै गम्भीर छ ।

एक जनाले काम गरेर दश जनाको परिवार पाल्नु त छँदै छ, त्यसमाथि पशुको पेटको लागि  पनि काम गर्न हामी विवश छौं ।

छोरो विदेश गएपछि घरका मान्छे अल्छी र विलासी त हुन्छन् नै, गाईभैंसी समेत मिठासे हुन्छन् क्यार ! गाईभैंसीलाई गाउँको गहुँ र मकै मनै पर्दैन, बजारको चोकर, दाना चाहिन्छ । यसो २\४ किलो भए पनि बजारिया दाना खान नपाए दूध दुहुन जाँदा फ्याट्ट लात्ता उचालिहाल्छन् ।

बाउ विदेश भएपछि बच्चाबच्चीलाई सरकारी स्कूल पढ्नै मन लाग्दैन । श्रीमतीलाई गाउँघर बस्नै मन लाग्दैन । बूढा बालाई सस्तो खालको नोकिया मोबाइल चलाउनै मन लाग्दैन, जानिनजानी भए पनि सामसुङ/आईफोनको स्क्रिन बूढीऔंलाले स्याट्ट-स्याट्ट सार्न मन लाग्छ ।

 

हामी अरुको खुसीको लागि मरिमेट्छौं । तर, हाम्लाई पनि खुसी हुन मन लाग्छ भन्ने कसले बुझ्ने ?

विद्वानहरु भन्ने गर्छन् ‘जो अरुको खुसीको लागि काम गर्छ, ऊ कहिल्यै सफल हुनै सक्दैन ।  सफल हुनको लागि त आफ्नै खुसीको लागि काम गर्नुपर्छ ।’

अहिले परदेशमा हामी आफ्नो खुसीको लागि काम गरिरहेका छौं त ? मरुभूमिका बालुवा र भट्टीका फलामसँग खेल्नु नै हाम्रा खुसी हुन् त ? पक्कै होइनन् । हाम्रो खुसी भनेका त ती स्कूल/क्याम्पस पढ्दा, गाउँघरमा रहँदा आफ्नै देशमै केही गर्न बनाइएका लक्ष्य/उद्देश्यहरु हुन् ।

अब कहिलेसम्म आफ्नो खुसीलाई तिलाञ्जलि दिएर परदेशमा लडिरहने ?

अब एक थान पासपोर्टसँगै मरेका ती उद्देश्य र फुटेका सपनाहरुलाई ब्युताउँनु र जोड्नुपर्छ । जुन दिन त्यो पासपोर्टलाई खरानी बनाउने साहस गर्छौं, त्यो दिन मरुभूमिका तातो बालुवा र भट्टीका तातो फलामसँगै खरानी भएका सपनाहरु आफैं फर्कनेछन् ।

हामीले संसारका हरेक देशका मान्छेहरुसँग कसैले पाँच वर्ष, कसैले १० वर्ष त कसैले १५/२० वर्ष नै कडा सैन्य तालिम लिइसक्यौं । घाम-पानी केही नभनी काला, गोरा, न्याप्टे, थ्याप्चेहरु सँगसँगै हजारौं परेड खेलिसक्यौं ।

कसरी भिड्ने ? कसरी जित्ने ? अनुभवी र कुशल लडाकु भइसक्यौं । अब हामी उठ्नुपर्छ ।

रत्तिभर ढिला नगरी हातमा हात अनि काँधमा काँध मिलाई संसारभरबाट एकजुट भई एउटा खतरनाक सैन्य दस्ता बनाउनुपर्छ र आफ्नै देश फर्केर परदेशीहरुले घनघोर युद्ध गर्नुपर्छ ।

 

तर, हामीले माओवादीले जस्तो मार्ने र मर्ने युद्ध होइन, रोप्ने र उमार्ने युद्ध गर्नुपर्छ । रुखमा मान्छे झुन्ड्याउने युद्ध होइन, फर्सी र घिरौला झुन्ड्याउने युद्ध गर्नुपर्छ । रगतका खोला बगाउने युद्ध होइन, पसिनाका धारा बगाउने युद्ध गर्नुपर्छ ।

माओवादीले बम र बन्दुकले युद्ध गर्‍यो, अब हामीले गल र गैंतीले युद्ध गर्नुपर्छ ।

तराईका फाँटमा धानका बाला झुलाउनुपर्छ, पहाडका पाखा-पखेरामा काँक्रा र करेलाका फूल फुलाउनुपर्छ । त्यसपछि हिमालका काखमा डाँफे र मुजुर आफैं नाच्नेछन् ।

हामीले माओवादीले जस्तो हार्ने युद्ध होइन, जित्ने युद्ध गर्नुपर्छ । यस्तो युद्ध हामी जित्छौं पनि किनकि दुबईका गगनचुम्बी महल, साउदीका फराकिला सडक, कतारको विश्वकपको स्टेडियम, जापन र कोरियाका द्रुत रेलका लिक यी सबै-सबै बनाउने यिनै हाम्रा पौरखी हात हुन् । यी अनुभवी हातहरु हार्दैनन् ।

जुन दिन हामी यो युद्ध जित्नेछौं, त्यो दिन हाम्रो हराएका खुसीहरु आउनेछन् अनि  बल्ल जीवनमा साँच्चिकै सफल हुनेछौं । जब हामी सफल हुनेछौं, देश आफैं सफल हुनेछ ।

अन्त्यमा फेरि एकपटक भन्छु, अब परदेशीहरुले युद्ध गर्नैपर्छ । २१औं शताब्दीमा कस्तो युद्ध गर्नुपर्छ भनी प्रधानमन्त्री प्रचण्डज्यूलाई सिकाउनुपर्छ ।

साभार अन्लाईनखबर