आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

प्रवासको नेपाली समाज र खेलकुदको महत्व

परदेशी खबर २५ श्रावण २०७३, मंगलवार ०८:२८ मा प्रकाशित ( ७ साल अघि) २३६ पाठक संख्या

 

image

जितेन थिङ,कुबेत

खेलकुद हरेक मनुष्यको अभिन्न अंग हो भनेर भन्दा केही अत्युक्ति नहोला। सायद कुनै पनि मनुष्य खेलकुद बिना रहन सक्दैन | सन्दर्भ कुवेतको, कुनै बखत कुवेतको नेपाली समाजमा सांस्कृतिक कार्यक्रम, जातिय संस्थाको मिटिंग तथा कार्यक्रम, राजनैतिक पार्टीहरुको भातृ संस्थाको कार्यक्रमहरु, जन्मदिनको पार्टीहरु भन्दा खेलकुद अर्थात फूटबल, भलिबल प्राय जसो आयोजना हुने गर्दथे र सोहार्दापूर्ण बातावरणमा समापन भै सबै नेपाली जनमानसले मनोरंजन लिने गर्दथे।

६ महिना खाडीको गर्मीको कारण खेलकुदमा कमि आएपनि बाकी ६ महिनामा सबै खेलकुद प्रेमी नेपाली जनमानसमा खेलकुदको नै चाहा हुने गर्दथ्यो | घरेलु कामदार देखि लिएर नेपाली समाजमा मानिएको गान्यमान्य तथा ३०/- केडी तलब खाने देखि के डि २०००/- तलब खाने व्यक्तिहरु, महिला दिदीबहिनिहरुको भब्य उपस्थितीमा फूटबल, भलिबल कार्यक्रम सौहार्दपूर्ण बातावरणमा सम्पन्न हुने गर्दथ्यो | सबै खाले नेपाली जनमानस यस्तै मौकाको खोजिमा रहने गर्दथे। फूटबल या त भलिबल कहिले हुन्छ? कहा हुन्छ? कहाँ बाट खबर पाइनन्छ? भनेर कान ठाडो गरेर बसिरहेका हुन्थे। त्यो अवसर कुनै पनि हालतमा गुमाउन चाहान्नथे| त्यो समयमा नेपालीहरुले यस्तो खालको अवसरलाई सुनौलो अवसरको रुपमा हेर्ने गर्दथे | कुवेतका नेपाली जनमानसले यो मौकालाई दुई तरिकाले हेर्थे | एक खेलकुद हेरेर मनोरंजन लिने र अर्को आफ्नो आफन्तहरु संगको भेट गरेर जो टाढा टाढाबाट आएका हुन्थे। महिनौ सम्म भेटघाट भएको हुदैनथ्यो। हुन पनि कहिले भेटघाट नभएको साथीभाईसंग भेटघाट हुने दिन तथा समय त्यहि फुटबल वा भलिबलले नै सिर्जना गर्थ्यो। बेलुकी रूम फर्की सके पछि पनि आनन्दको महसुस गर्ने बातावरण यो फुटबल वा भलिबलले गरेको थियो |समग्रमा, त्यो समयमा अर्थात सन् २००० को दशकमा खेलकुद (फुटबल, भलिबल) ले एउटा मध्यस्त कर्ताको काम गरेको थियो |
सन् २००० को दशकमा नेपाली जनमानस अतिनै सालिन, भद्र थियो र सबैले आ-आफ्नो तर्फबाट कसरी सरसहयोग , मान सम्मान गर्ने भन्ने भावना लिएर एक आपसमा प्रस्तुत हुने गर्थे किन कि त्यो समयमा नेपालीहरुको संख्या कुवेतमा निकै न्युन थियो। त्यसैले होला सामिप्यता थियो, आत्मियता थियो | अर्को कम्पनीको साथि संग भेटघाट गर्नुको लागि शुक्रबार “मालिया पोष्ट अफिस अगाडीको चौर” मा जानु पर्छ भन्ने सोच प्रायजसो नेपालीहरुको मनमा उब्जने गर्दथ्यो।

हरेक शुक्रबार मालियाको पोस्ट अफिस अगाडिको चौर नेपालीहरुले भरिने गर्दथ्यो | कुनै समय यस ठाउँलाई अर्थात चौरलाई नेपाली पार्क पनि भन्ने गर्दथे, नेपालीहरु। कुवेत भित्रिने प्रायजसो मान्छेलाई मालियाको बारेमा जानकारी रहन्थ्यो र आफ्नो आफन्तहरुलाई भेट्नुको लागि त्यही मालियामा नै बोलाउने गर्दथे |

सन् २०१० को सुरुवातसंगै नेपालीहरुको चाप बढ्दै गयो। संघ संस्थाहरुको बिजारोपण हुंदै गयो र विभिन्न संघसंस्थाको जन्म भयो। कुवेतको नेपाली जनमानस विभिन्न संघ संस्थाहरुमा आबद्द हुंदै गए र सबै आ-आफ्नै बिचार बिमर्शमा ब्यस्त रहन थाले। नेपाली नेपाली बिचमा वैमनष्यता र बैरी भाबको जन्म हुन गयो। अनि नेपाली नेपाली बिचमा अस्वस्थ प्रतिस्पर्धाको बातावरण सिर्जना भयो। जसको फलस्वरूप नेपालीहरु विभिन्न गुटमा बाधिन बाध्य भए। नेपाली संघसंस्थाहरुले आयोजना गरेका विभिन्न सांस्कृतिक कार्यक्रम तथा खेलकुदको कार्यक्रमहरुमा अप्रिय घटनाहरु घट्ने क्रम पनि बढ्दै गयो। नेपालीहरु आ-आफैमा असुरक्षित महसुस गर्न थाले। असुरक्षित हुन थाले जुन सर्बदिदितै छ।

कार्यक्रममा महामहिम नेपाली राजदूत तथा कर्मचारीको उपस्थितिमा संचालन भएको कार्यक्रमहरुमा पनि अप्रिय घटनाहरु घटना थाले | अहिले आएर राजदूतावासले नै बिज्ञाप्ति निकाली नेपालीहरुलाई कुनै पनि बृहत कार्यक्रमहरु संचालन गर्नमा रोक लगाइयो। जसको फलस्वरूप अहिले आएर प्राय जसो संघ संस्थकार्यक्रम एउटा बन्द कोठाभित्र सिमित हुन बाध्य भयो। जसलाई कुनै पनि नेपालीले सकारात्मक रुपमा लिएको देखिदैन |
यस्तै अप्रिय घटनाहरुको सिकार बन्न गयो कुवेतको खेलकुदको माहोल जुन ७५ प्रतिसत नेपालीहरुले मनपराउने गर्दछन् | विभिन्न संघसस्था जसले खेलकुद (फुटबल भलिबल) आयोजना गर्दथे ति संस्थाहरु चुप लागेर बस्नु पर्ने अवस्था सिर्जना भएको छ | उदहारण दिनु पर्दा कुवेतकै सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिंग क्लब, मातृभूमि नेपाली युथ क्लब, अल्घानिम सेक्युरिटी ग्रुप, स्वुइडिस कम्पनी, तमु पेल्हु संघ, मगर संघ, न्यु पाल्पा बाग्लुङ्ग टिम, चालक भलाइ कोष, नयाँ नेपाल युथ क्लब, रेहाल युथ क्लब जस्ता खेलकुदमा चासो दिने संस्थाहरु चुप लागेर बसेको अवस्था अहिले कुवेतको नेपाली जनमानसले महसुस गरेको हुनु पर्दछ |

यस्तै अप्रिय घटनाहरु घट्ने क्रम बढ्दै गए पछि खेलकुद क्षेत्रमा लगानी गर्ने प्रायोजकहरु पनि निरास हुंदै गएको देखिन्छ | कुनै बेला युएई एक्सचेन्ज, बिईसी एक्स्चेन्ज, सिफा अल जजिरा, मलाबर गोल्ड जस्ता ब्यबसायिक संस्थाहरु नेपालीहरुको खेलकुदको लागि लगानी गर्नको लागि आतुर देखिन्थे भने अहिले आएर उनीहरु निरास हुन बाध्य छन् |

२१औ शताब्दीको परिवेशमा खेलकुद क्षेत्र कति सम्म अगाडी छ र संसारकै मानिसहरुले कति सम्मान पूर्वक यो क्षेत्रलाई अगाडी बढाईरहेको अवस्थामा हामी कुवेतवासी नेपालीहरुले हेला गर्नु भनेको मुर्खता मात्रै हैन महामुर्खता भन्दा सायद कसैलाई पनि अप्ठेरो पर्दैन होला। हुन त खेल मैदानलाई, सांस्कृतिक रंगमंचलाई केहि उछृंखल तत्वहरुले लडाईको मैदानमा परिणत गरिदिने हुनाले नै होला दिनानुदिन खेलकुदका संघ संस्था तथा खेलकुद प्रेमी जनमानसमा नैरास्यता छाएको र यो स्वाभाविक पनि हो | न आयोजक सुरक्षित छ , न खेलाडी सुरक्षित छन्, न दर्शक नै, त्यस्तो माहोलमा खेल तथा कुनै सांस्कृतिक कार्यक्रम आयोजना गर्नु पनि आफ्नै खुट्टामा तातो पनि खन्याउनु जस्तै हुन गएको हरेक आयोजकले महसुस गरेको कुरा हो जुन सर्वबिदितै छ।

तर हामीले खेलको महत्वलाई बुझेर फेरी पनि पहिले झैं हामी प्रवासी नेपालीहरुले खेलकुदको महत्वलाई बुझेर सौहार्दपूर्ण बातावरणमा अब सबै मिलेर खेलकुद क्षेत्रलाई पुन: जगाउनु पर्ने तिर लाग्न सबै नेपाली र सरोकारवालाहरुको ध्यान जान जरुरी छ।

लेखक माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष हुन्।