आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

राजधानीमै घरेलु हिंसाको डरलाग्दो अवस्था

परदेशी खबर ३ जेष्ठ २०७३, सोमबार ०३:५५ मा प्रकाशित ( ८ साल अघि) २१० पाठक संख्या

सुवास गोतामे, काठमाडौं,

फोटो :फाइल फोटो

फोटो :फाइल फोटो

जेष्ठ ३ – बाफलकी सुम्निमा (नाम परिवर्तन) पतिले खानलाउन नदिएको भन्दै उजुरी लिएर प्रहरी मुख्यालयमा पुगिन् । सुम्निमाले प्रहरीकै एक सईसँग विवाह गरेकी थिइन् । मुख्यालयले ती सईको आधा तलब भराउने निर्णय गरिदियो । उनले अदालतमा समेत पतिविरुद्ध मुद्दा हालिन् । अदालतले सुम्निमाकै पक्षमा फैसला गरिदियो ।

एकाएक कतारबाट राजेश (नाम परिवर्तन) नेपाल आइपुगे । घर पुग्दा छोराछोरी मात्रै देखेपछि ‘ममी’ खै भन्दै सोधे । छोराछोरीले ‘मामु अर्कैसँग जानुभयो’ भनेपछि राजेश छाँगाबाट झरेजस्तै भए । कतारमा १० वर्ष बिताइसकेका राजेश तीनचार वर्षमा एकपटक घर आउँथे । बच्चाको लालनपालन र घर चलाउन भन्दै राजेशले मासिक २५ हजार रुपैयाँ पठाइरहन्थे । तर सुम्निमाको अर्को केटासँगको अफेयरबारे उनी जानकार थिएनन् ।

सुम्निमाले प्रहरीका सईसँग बिहे गरेर नागरिकतासमेत बनाइसकेकी थिइन् । चार महिनाअगाडि राजेश नेपाल फर्किएपछि टेबुलमा सुम्निमाको नागरिकता हेर्दा उनी छक्क परे । चार बच्चाकी आमा सुम्निमाले यसरी धोका देलिन् भनेर सोचेका पनि थिएनन् राजेशले । सुम्निमाले प्रहरीका सईसँग पनि सम्बन्धविच्छेद गरिसकेकी थिइन् । राजेशले पनि सुम्निमालाई पत्नीका रूपमा स्वीकार्न मानेनन् । छोराछोरीले ‘ममीलाई छाडिदिनोस् बाबा हामी छँदैछौं नि’ भन्दै सम्झाएपछि राजेश बच्चा लिएर घर फर्किए ।

राजधानीको बाफलको यो घटना लैंगिक हिंसाको ज्वलन्त उदाहरण हो । कोटेश्वरको अर्को घटना झन् सोचनीय छ । महिला सेलले यो घटनालाई दुई महिना लगाएर मिलाएको बताउँछिन् सेलकी प्रमुख प्रहरी निरीक्षक पूर्णिमा चन्द । पत्नी हराएपछि कोटेश्वरका राजीव (नाम परिवर्तन) खोजीका लागि प्रहरी शरणमा पुगे । सेलले ललितपुर प्रहरीको सहयोगमा केटी (रञ्जना) नाम परिवर्तनलाई एउटा गेस्ट हाउसमा अर्को केटासँगै भेट्यो ।

जापानमा काम गर्न गएको समयमा खुरुखुरु रञ्जनाको खातामा पैसा पठाउँदै आएका थिए राजीवले । लमजुङमा राम्रै घरसमेत पत्नी बस्न नमानेपछि ५२ लाखमा बिक्री गरे । पैसाको सबै बागडोर रञ्जनाको हातमा सुम्पेका राजीव जापानबाट फर्केपछि एकाएक रञ्जना गायब भएको खबर सुनेर भस्किए । रञ्जनाले आफ्ना दुई बच्चालाई महाराजगन्जस्थित एक स्कुलमा भर्ना गरेकी थिइन् । राजीवले रञ्जनालाई बच्चा त भेट्नदेऊ भन्दा चार लाख दिनुपर्छ भनेर बार्गेनिङ गरिन् ।

स्कुलमा पुगेर बच्चाबारे सोधीखोजी गर्दा प्रिन्सिपलले रञ्जनाले बाबु मरिसकेकाले आमाको नाममात्रै लेखाएको जबाफ दिएपछि राजीव तनावमा परे । प्रहरीले रञ्जनालाई पक्राउ गर्न खोज्दा भनिन्, ‘तपाईंहरू मलाई कानुनविपरीत ढंगले पक्राउ गर्दै हुनुहुन्छ । राजीव र मेरो छोडपत्र भइसक्यो । पुनरावेदन अदालत पाटनमा गएर बुझ्नोस् ।’ निरीक्षक चन्दका अनुसार अदालतमा गएर बुझ्दा उनीहरूको फागुनमै डिभोर्स भइसकेको रहेछ ।

अविश्वासमा बच्चाको डीएनए परीक्षण

घरमा पत्नीले सधैंजसो झगडा गर्ने र रातिराति फेसबुकमा च्याट गर्ने गरेपछि कीर्तिपुरका अच्युत (नाम परिवर्तन) चिन्तित थिए । तीन वर्षको छोराकी आमा रहेकी विमली (नाम परिवर्तन) अर्कै केटासँग अफेयरमा थिइन् । असमझदारी बढ्दै गएपछि अच्युत हेटौंडामा आमा भेट्न जान्छु भनेर घरबाट निस्किए । विमलीलाई झन् बाटो खुल्यो ।

तर अच्युत हेटौंडा नगईकन आमालाई बीच बाटोमै बोलाएर आमाको मोबाइल नम्बरबाट विमलीलाई फोन गरे । सासूको मोबाइलबाट फोन आएपछि विमली अच्युत घर पुगेकोमा ढुक्क भइन् । अच्युत एकदुई दिन कोठामा नगई होटेलमा बसेर विमलीको चियोचर्चो गर्न थाले । प्रहरीको महिला सेलमा समेत जानकारी गराएका उनले विमली अर्कै केटासँग चोभारको एउटा गेस्टहाउसमा पुगेको सूचना पाए । सेलले कीर्तिपुर प्रहरीको सहयोगमा विमलीलाई अर्कै केटासँग रहेका बेला समात्यो ।

ती पुरुषसँग तीन वर्षदेखि सम्पर्कमा रहेकी विमलीको स्वार्थ यौनप्यास मेटाउनु मात्रै रहेको प्रहरी अनुसन्धानबाट खुल्यो । प्रहरीले ती युवक र विमलीसँग सोधपुछ गर्‌यो । ती युवकले विवाह नगर्ने तर क्षतिपूर्तिबापत आठ लाख तिरिदिने बताए । उनी फाइनान्सबाट पैसा निकालेर विमलीका पतिलाई बुझाउन प्रहरीचौकीमै पुगे ।

प्रहरीले सम्झाएपछि विमलीलाई अँगाल्ने निधो गरिसकेका अच्युतको एकाएक मन फेरियो र उनले तीन वर्षको छोरालाई देखाउँदै भने, ‘यो मेरो छोरो होइन, त्यही केटासँग सुतेर जन्माएकी हो । डीएनए टेस्ट गरेर मात्रै लैजान्छु ।’ प्रहरी निरीक्षक चन्दका अनुसार विमलीमा कुनै पश्चाताप थिएन । विमलीले पतिलाई छाडी छोरोलाई लिएर गइन् ।

पढेलेखेका पनि कम छैनन्

कालीमाटी महिला सेल र प्रहरी परिसर टेकुमा यस आर्थिक वर्षको गत चैतसम्म एक हजार ४२ वटा घरेलु हिंसाका उजुरी परेका थिए । त्यसमध्ये नौ सय ९२ जना महिला र ४८ जना पुरुषले आफू हिंसामा परेको उजुरी दिएका थिए । सेलकी प्रमुख प्रहरी निरीक्षक पूर्णिमा चन्दका अनुसार धनाढ्य र पढेलेखेकाहरूबाटै थुप्रै उजुरी परेका थिए ।

स्नातक तह पास गरेका ४४ महिला तथा पुरुषले पति वा पत्नीबाट घरेलु हिंसाको सिकार भएको भन्दै उजुरी दिएका थिए । एसएलसी गरेका दुई सय १६, ६ देखि १० कक्षा पढेका दुई सय २९ र आईए पढेका ७५ जनाले प्रहरीमा उजुरी दिएका छन् ।

अधिकांश महिलाले पतिले खानलाउन नदिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । निरीक्षक चन्दका अनुसार राजधानीमै वैवाहिक पुरुष र महिलाको अन्यसँग सम्बन्ध रहेका घटना धेरै छन् ।साभारःअन्नपूर्ण पोस्टबाट