आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

‘हेडसर’को तलब मासिक ३ हजार

परदेशी खबर १९ असार २०७३, आईतवार ०४:१९ मा प्रकाशित ( ८ साल अघि) १६९ पाठक संख्या

वसन्तप्रताप सिंह, बझाङ,

03072016091749school,bajhang-1000x0

असार १९, – भातेखोला गाविसस्थित ऐकवर प्राविका प्रधानाध्यापकले मासिक ३ हजार तलब पाउँछन् । शिक्षिकाले २ हजारमा चित्त बुझाएकी छन् । अभिभावकले चन्दा संकलन गरेर जेनतेन सञ्चालन गरिरहेको विद्यालय बन्द हुने अवस्थामा पुगेको छ ।

विद्यालय स्थापना भएको ८ वर्षसम्म कुनै पनि सरकारी सुविधा नपाउँदा दुर्गम गाउँको यो विद्यालय बन्द हुने स्थितिमा पुगेको हो । प्रधानाध्यापक टेकराज बानियाँले २०६५ देखि अहिलेसम्म आफूले मासिक तलब ३ हजार र शिक्षिका सुशीला भण्डारीले मासिक २ हजार लिएर विद्यालय चलाइरहेको बताए । ‘धेरैजसो अभिभावकले चन्दा दिन पनि छाडेकाले अबका दिनमा यही तलब पनि नपाइने हो कि भन्ने चिन्ता छ,’ उनले भने ।

भातेखोला गाविसको खेती गाउँबाट सबैभन्दा नजिकको कुलमष्टाजन उच्चमावि झन्डै २ घण्टा टाढा छ । खेती गाउँका ससाना बालबालिकालाई त्यहाँ पुग्न धौधौ हुन्छ । जंगलको बाटो विद्यालय जाँदा वन्यजन्तुको डर हुने, खोला तर्नुपर्ने र साना बालक हिँड्न नसक्ने भएकाले २०६५ मा गाउँमै प्रावि स्थापना गरिएको थियो । स्थापनाकालदेखि नै चन्दाको भरमा चलिरहेको उक्त विद्यालयमा आजभोलि अभिभावकले चन्दा दिन आनाकानी गर्न थालेपछि विद्यालयको भविष्य नै संकटमा परेको अभिभावक नरबहादुर सेटीले बताए ।

६० जना विद्यार्थी अध्ययनरत उक्त विद्यालय अहिलेसम्म चन्दाबाटै सञ्चालन गरेको देवी सेटीले बताए । ‘अहिलेसम्म त गाउँले, भारतमा रोजगारीका लागि गएका यस गाविसका बासिन्दाहरूबाट चन्दा संकलन गरी विद्यालय सञ्चालनमा ल्याएका छौं । प्रत्येक वर्ष चन्दा दिँदादिँदा अभिभावक दिक्क भइसके । विद्यालय बन्द हुने अवस्थामा छ,’ उनले भने ।

पहुँचका आधारमा शिक्षक दरबन्दी वितरण गरिने र त्यहाँसम्म पहुँच नहुँदा विद्यालय बन्द हुने अवस्थामा पुगेको प्रधानाध्यापक बानियाँले बताए । जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले जिल्लामा यस्ता विद्यालय थुपै्र भएको जिकिर गरे । गत वर्ष ४० दरबन्दी आएकोमा त्यस्तै अवस्था भएका तथा दरबन्दी नपाएका विद्यालयहरूलाई वितरण गरिएको उनको भनाइ छ । ‘पहुँचका आधारमा दरबन्दी वितरण गरिएको छैन । अझै पनि झन्डै ३५ भन्दा बढी विद्यालयले दरबन्दीका शिक्षक पाएका छैनन्,’ उनले भने ।

विद्यालय बन्द हुने अवस्थामा पुगेपछि स्थानीय अभिभावक साना बालबालिकालाई कहाँ पढाउने भन्ने चिन्ता गर्न थालेका छन् । ‘विद्यालय बन्द भएको खण्डमा गाउँका साना बालबालिका शिक्षाबाट वञ्चित हुने निश्चित छ,’ कौशिला कामीले भनिन्, ‘संकलन गरेको चन्दा पनि सकियो । महिनाको ५ हजार जम्मा गर्न सक्ने स्थिति छैन, विद्यालय बन्द भए केटाकेटी कहाँ पढाउने ?’ साभारः कान्तिपुरबाट