पुस २३,राजविराजl आठ दिनदेखि जाडो र शीतलहरका कारण कठ्यांग्रिएर मृत्यु हुने क्रम अझै रोकिएको छैन । सप्तरीमा एक सात महिने बालकसहित थप ६ जनाको मृत्यु भएको छ ।
मृतकका पीडित आफन्त ।
पछिल्लो पटक मृत्यु भएका ६ जना समेत जिल्लामा आठ दिनको अवधिमा जाडोका कारण मर्नेको संख्या १५ पुगेको छ ।
कञ्चनरुप नगरपालिका-२ का ५५ वर्षीय बेचन शेखको आइतबार बिहान खेतमा पानी लगाउने क्रममा जाडोले कठ्यांग्रिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक डिल्ली चौहानले जानकारी दिए । उनका अनुसार बिहान घरबाट पानी लगाउन खेत गएका शेख खेतमै कठयांग्रिएर ढलेपछि घर ल्याउँदै गर्दा मृत्यु भएको हो ।
यस्तै खडग नगरपालिका-८ का ६० वर्षीय मुसहरु चौधरीको कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । डिएसपी श्रेष्ठका अनुसार तिलाठी कोईलाडी गाउँपालिका-४ का नारायण मुखियाको पनि जाडोका कारण मृत्यु भएको छ । अति विपन्न रहेका मुखिया झुपडीमा बस्दै आएका थिए ।
यसैगरी खडग नगरपालिका-७ खोरियाका ६० वर्षीय प्रेमबहादुर माझीको जाडोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । उता कञ्चनरुप-७ का ६० वर्षीय उतिम मरिक डोमको पनि जाडोका कारण मृत्यु भएको छ । चारदिन अघि बिहान घर नजिकै कठ्यांग्रिएर ढलेका उतिमको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको उनका छोरा सिकिन्दर मरिक डोमले जानकारी दिए ।
कञ्चनरुप नगरपालिका-४ मा भने एक ७ महिने बालकको चिसोका कारण सिकिस्त भएपछि उपचारका लागि विराटनगर लग्दै गर्दा मृत्यु भएको छ । कञ्चनरुप-४ का ललित चौधरीका सात महिने छोरा गणेश जाडोका कारण सिकिस्त भएपछि स्थानीय क्लिनकमा निमोनिया भएको शंका गरेपछि उपचारका लागि विराटनगर लग्दै गर्दा मृत्यु भएको स्थानिय सञ्चारकर्मी राजकुमार पासमानले जानकारी दिए ।
यसैबीच, जाडो अत्यधिक बढेपछि आइतबारबाट जिल्लामा प्याब्सनअन्तर्गतका निजी विद्यालय ३ दिनसम्मका लागि बिदा दिइएको प्याब्सन सप्तरीका अध्यक्ष पञ्चदेव यादवले जानकारी दिए ।साभार: कान्तिपुर अनलाइनबाट