आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

पासपोर्ट हराए अब प्रहरी रिपोर्ट नचाहिने, पत्रिकामा पनि विज्ञापन गर्न नपर्ने

परदेशी खबर २७ भाद्र २०७३, सोमबार १०:०४ मा प्रकाशित ( ८ साल अघि) १७४ पाठक संख्या

timthumb

प्रकाश ढुंगाना / काठमाडौं,२७ भदौं l राहदानी (पासपोर्ट) हराए अब प्रहरी रिपोर्ट लिन नपर्ने भएको छ। राहदानी विभागले सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट ल्याउनुपर्ने व्यवस्थालाई हटाएको हो।

प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट ल्याउने प्रक्रिया झन्झटिलो भएको र सर्वसाधारणले बढी सास्ती खेप्नुपरेको भन्दै राहदानी विभागले सहजताका लागि प्रहरी रिपोर्ट नचाहिने व्यवस्था लागू गरेको हो।

नेपाल प्रहरीसँगको सहकार्यमा राहदानी विभागले प्रहरी रिपोर्ट लिन नपर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए।‘अब पत्रपत्रिकामा पनि राहदानी हरायो भनेर सूचना दिइरहनु पर्दैन’, महानिर्देशक थापाले भने, ‘सिधै राहदानी विभाग आएर जानकारी गराउन सक्छन्।’ थापाका अनुसार पासपोर्ट हराए अब सिधै राहदानी विभागमा गएर निवेदन दिनुपर्नेछ। त्यसपछि विभागले त्यसको भेरिफाइ गरेर नेपाल प्रहरीलाई जानकारी गराउनेछ।

राहदानी विभागले पठाएको इमेल नेपाल प्रहरीले बढीमा ५ मिनेट भित्रमा रिप्लाई गर्नेछ। त्यसपछि प्रहरीले इन्टरपोलमार्फत सबै देशहरुमा हराएको राहदानी नम्बर इमेल गर्छ। इन्टरपोलले सबै देशका विमानस्थलमा फेरि सो बारे जानकारी गराउनेछ। हराएको पासपोर्ट कसैले बोकेर हिँडे त्यो मानिस पक्राउ पर्ने महानिर्देशक थापाले बताए।
राहदानी विभागले नयाँ व्यवस्था लागू भएपछि अरूको नाममा पासपोर्ट बोकेर यात्रा गर्ने, एमआरपी अरुलाई बेच्नेजस्ता काम बन्द हुने विश्वास आफूहरुले लिएको महानिर्देशक थापाले बताए।

विगतमा सभासदहरु नै राहदानी बेच्ने कार्यमा सम्ंलग्न रहेका थिए। त्यस्तै केही महिनाअघि मलेसियाबाट आएका १० नेपाली युवा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए। उनीहरुले अरुको नाममा जारी भएको एमआरपी बोकेर नेपाल आएका थिए। राहदानी हराए कुन क्षेत्रमा हराएको हो, क कर्गको राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्नुपर्दथ्यो। त्यसको अर्धकट्टी बोकेर राहदानी हराउने व्यक्ति प्रहरीकहाँ उजुरी गर्न जानु पर्दथ्यो । त्यसपछि प्रहरीले दिएको रिपोर्ट लिएर फेरि राहदानी हराउने ब्यक्ति राहदानी विभागमा गएर निवेदन दिनुपर्ने झन्झटिलो प्रक्रिया थियो।साभारःसेतोपाटीबाट