आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

दिदीले कुवेतबाट भिसा पठाउने, भाइले नेपालबाट केटी बेच्ने

परदेशी खबर १३ पुष २०७३, बुधबार ०४:२१ मा प्रकाशित ( ७ साल अघि) १६३ पाठक संख्या

नारायण अधिकारी/पुस १३,  काठमाडौं l ‘मेरो दिदीलाई कामको लोभ देखाई ओमान पुर्‍याइयो । दिदी अहिले त्यहाँ कष्टपूर्ण तरिकाले बस्नु भएको छ । उहाँलाई शारीरिक, मानसिक यातना दिनुका साथै यौन शोषण पनि गरिएको छ । तत्काल मेरो दिदीको उद्धार गरी नेपाल झिकाइ पाउँ ।’
काठमाडौंकी गीता तामाङ (नाम परिवर्तन) माथि उल्लेख गरिएको विवरण लेखिएको चिर्कटो लिएर गएको मंसिर २० गते प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबी पुगिन् ।
प्रहरीले उनलाई सोधपुछ गर्दै उजुरी बुझ्यो । उजुरीकै आधारमा प्रहरीले अनुसन्धान अघि बढायो र उजुरी दिएको भोलिपल्टै अर्थात मंसिर २१ राजकुमार खरेललाई सिआइबीले महाराजगञ्जबाट समात्यो । त्यस्तै मंसिर २३ गते काठमाडौंको सामाखुसीबाट पूर्णबहादुर लिम्बु र २९ गते रुपन्देहीको खैरहेनीबाट हरिप्रसाद थारु पक्राउ परे ।
नवलपरासीको दुम्कीबास–३ का खरेल, ताप्लेजुङको फूलबारी–७ का लिम्बु र रुपन्देहीको गंगोलिया–६ का थारुले मिलेर गीताकी दिदीलाई विदेश पठाउने भन्दै बेचविखन गरेका थिए । उनीहरुले नेपाली महिलालाई भारत हुँदै, श्रीलंका, कुवेत, दुवई तथा ओमानसम्म पुर्‍याएर बेचविखन तथा यौन हिंसा गर्ने गरेको स्वीकार गरिसकेको सिआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिरा चौधरीले बताउनुभयो । त्यसैको सिकार भएकी थिइन् गीताका दिदी ।
आर्थिक अभावले बेचविखनको सिकार
बेचिएर ओमान पुगेकी गीताकी दिदीको आर्थिक अवस्था एकदम नाजुक छ । श्रीमानबाट पनि सम्बन्ध विच्छेद भइसकेकी उनका दुईवटा छोराछोरी छन् । काठमाडौंको महँगीमा आफूलगायत छोराछोरी पाल्न काम खोज्दा नपाएपछि उनले विदेश जाने योजना बनाएको प्रहरीसमक्ष बताएको प्रवक्ता चौधरीले बताउनुभयो । काठमाडौंमा काम नपाएपछि उनी विदेश जाने चक्करमा लागिन् र यसैक्रममा उनको भेट राजकुमार खरेलसँग भएको थियो । खरेलले पासपोर्ट बनाउनलगायत विदेश जानसम्म एक रुपैयाँ नलाग्ने बताएपछि उनी मख्ख हुँदै विदेश जान तयार भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका गिरोहका अन्य कुनै व्यक्तिले पासपोर्ट बनाएको यिनीहरु सबै मिलेर ओमान पुर्‍याएर बेचेको प्रवक्ता चौधरीले बताउनुभयो । उनीहरुविरुद्ध प्रहरीले संगठित तथा मानव बेचविखन विरुद्ध मुद्धा चलाएको छ ।
यसरी बेचिन पुगिन् उनी ओमानमापक्राउ परेका तीन जना मध्ये राजकुमार खरेलकी दिदी मिना खरेल कुवेतमा छिन् । उनी कुवेती कम्पनीमा काम गरेका ६ वर्ष भन्दा बढी भइसक्यो । कम्पनीमा काम गरेर उनले जति पैसा कमाउँछिन् त्यो भन्दा बढी उनले मानव तस्कर गरेर कमाउँछिन् । उनकै सेटिङमा नेपालदेखि कुवेत, ओमानसम्म पुग्छन् युवती र उनले कमाउँछिन् मोटो रकम ।
सिआइबीका अुनसार मिनाले कुवेतबाट भिसा पठाउने गर्छिन् । उनले पठाएको त्यो नक्कली भिषामा नेपालबाट केटी पठाउने गर्छ्न उनका भाइ राजकुमार खरेलले । यसरी उनीहरुले मिलेर अहिलेसम्म ६ जना युवतीलाई विभिन्न देश पुर्‍याएर बेच्ने तथा यौन शोषण गर्ने गरेको प्रवक्ता चौधरीले बताउनुभयो ।
पक्राउ परेका मध्ये खरेलले सरिताकीलाई काठमाडौंबाट भारतीय सीमासम्म पुर्‍याएका थिए । त्यस्तै पूर्णबहादुर लिम्बुले पासपोर्ट, टिकटलगायतका कागजात मिलाउने र ती कागजात दिल्लीसम्म पुर्‍याउने काम गरेको अनुसन्धाबाट खुल्न आएको छ ।
रुपन्देहीबाट पक्राउ परेका थारुले ती महिलालाई भारतबाट श्रीलंकामा रहेका अर्को गिरोहलाई सुम्पिएको प्रवक्ता चौधरीले बताउनुभयो ।
उनीहले सुरुमै कागजात कुरियर गरेर दिल्ली पठाएर त्यसपछि मात्रै आफूलाई सुनौली नाका हुँदै दिल्ली लगेको गीताकी दिदीले प्रहरी समक्ष बताएकी छिन् । ‘मलाई १५ दिन जति दिल्ली राखियो, त्यहाँ रहँदा कसैसँग सम्पर्क हुन दिइएन । चौबिसै घण्टा उनीहरुले मलाई निगरानी गर्थे’ उनलाई उदृत गर्दै प्रवक्ता चौधरीले भन्नुभयो । त्यसपछि उनलाई श्रीलंकामा रहेको मानव तस्कर गिरोहलाई जिम्मा लगाइएको थियो । उनी २५ दिन श्रीलंका बसिन् । त्यहाँबाट उनलाई कुवेत पठाइएको थियो । कागजात नमिलेपछि उनलाई कुवेतबाट श्रीलंकानै फिर्ता पठाइयो । श्रीलंका फिर्ता भएको २० दिनपछि उनलाई ओमान लगिएको थियो ।
ओमान पुर्‍याएको केही दिनमै उनलाई यौन शोषण गर्नुका साथै बन्धक बनाइयो । आफ्नो पीडा बहिनीलाई फोनमा बताएपछि बहिनीले सिआइबीमा दिएको उजुरीको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ गर्न बाँकी छन् ६ जना गिरोह
मानव बेचविखन एक्लैले मात्र सम्भव नभएकाले नेटवर्कमा यस्तो अपराध हुने गरेको छ । मानव तस्कर गिरोहले विभिन्न देशमा आफ्ना एजेन्ट राखेर काम गर्ने गरेको प्रहरीको बुझाई छ ।
त्यस्तै सरितालाई काठमाडौंबाट ओमान पुर्‍याएर बेच्ने तीन जना पक्राउ परेपनि यसमा अन्य ६ जनाको संलग्नता रहेको सिआइबीका प्रवक्ता चौधरीले बताउनुभयो । ‘यिनीहरुले नेपालमा रहेर काम गर्ने र विदेश अन्य गिरोहले सेटिङ मिलाएर मानव बेचविखन गरेका हुन्, यसमा संलग्न अन्य ६ जना पक्राउ पर्न बाँकी छन्’ प्रवक्ता चौधरीले भन्नुभयो । नेपाल भन्दा बाहिर रहेकाले ६ जना गिरोह पक्राउ गर्न गाह्रो भएको सिआइबीले जनाएको छ । प्रत्येक देशमा एजेन्ट राखेर संगठिर रुपमा काम गर्ने भएकाले पक्राउ गर्न गाह्रो भएको प्रहरीले जनाएको छ । ‘यिनीहरुले पूर्व योजना अनुसार काम गर्छन् थाहा पाइ हालेमा यसो गर्ने भन्ने पूर्व योजना भएकाले पक्राउ गर्न गाह्रो भएको हो’ प्रवक्ता चौधरीले भन्नुभयो ।
पासपोर्ट बनाउनदेखि ओमान जानसम्म लागेन पैसा
आर्थिक रुपले विपन्न सरितासँग विदेश जान त के पासपोर्ट बनाउनसम्म पैसा थिएन । आर्थिक रुपमले छट्पटिएकी ती पीडित महिलालाई राजुकमार खरेलले पासपोर्ट बनाइदिने देखि विदेश पठाइदिनेसम्मको योजना सुनाए । उनी पनि मख्ख हँदै विदेश जान तयार भइन् ।
एक उनलाई मानव बेचविखन गिरोहले आफ्नै खर्चमा नेपालदेखि ओमानसम्म पुर्‍याएका थिए । पासपोर्ट बनाउन विभिन्न कागजपत्र र सिफारिस चाहिने भएपनि रातारात पासपोर्ट बनाएर कसरी लगियो विदेश भन्ने प्रश्नमा प्रवक्ता चौधरीले भन्नुभयो ‘यो डलाग्दो कुरा हो, हामी यसको अनुसन्धानमै छौं ।’साभारःउज्यालो अनलाइनबाट