आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

उपत्यकामा जथाभावी बाटो काट्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस्, नत्र २ सय जरिवाना तिर्नुपर्ला

परदेशी खबर १५ बैशाख २०७४, शुक्रबार ०८:२५ मा प्रकाशित ( ७ साल अघि) ४९८ पाठक संख्या


रासस

वैशाख १५, काठमाडौ । तपाईं जथाभावी बाटो काट्दै हुनुहुन्छ ? याद गर्नुहोला रु २०० जरिवानामा पर्नुहोला ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई २ सय रुपैयाँ जरिवना गर्नेभएको छ ।

महाशाखाले शुक्रबार ‘बढ्दो सवारी साधन र दुर्घटना न्यूनीकरणको अभियान’ बारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा उक्त जानकारी दिएको हो । उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदल यात्रु मरेको भन्दै यसको न्यूनीकरणका लागि आगामी जेठ १ गतेदेखि जरिवना गर्न लागेको हो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रहरी आयुक्त एवम् प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले राज्यले ट्राफिक क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘जेब्राक्रसिङमा चालक र यात्रु दुबै सचेत भएमात्र दुर्घटनामा कमी आउँछ ।’

प्रनाम भण्डारीले सडकमा छाडा गाईबस्तु छोड्दा धेरै दुर्घटना भएको भन्दै यसबारे सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए।

काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले काठमाडौँलाई शान्त र सुन्दर सहर बनाउनका लागि महानगरपालिका लागिपरेको बताए । उनले भने, ‘महानगरपालिकाले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरिनुका साथै हाल रातिको समयमा सडक पखाल्ने काम गरिरहेको छ ।’

महाशाखाका प्रमुख मिङमार लामाले उपत्यकामा हुने दुर्घटनामध्ये अधिकांश मोटरसाइकल र स्कुटरबाट हुने भएकाले यसको न्यूनीकरणका लागि यो अभियान चलाएको बताए । उनले भने, ‘जथाभावी बाटो हिँड्ने वा काट्ने तथा जेब्रा क्रसिङबाट बाटो काट्दा सवारी नरोक्ने सवारी चालक दुबैलाई कारबाही गछौँ ।’

उनले सडक सुरक्षासम्बन्धी उपत्यकाका २६ वटा सामुदायिक केन्द्रमार्फत आजैदेखि जनचेतना कार्यक्रम सञ्चालन गरिएको बताए ।

त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपाने, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, नेपाल यातायात मजदुर संघका अध्यक्ष अजय राईलगायतले नियम सञ्चालनसँगै कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिए। साभार: कान्तिपुर अनलाइनबाट